×

PRADIP YADAV

Member of parliament

ABOUT ME LEADERSHIP VISION & MISSION MEDIA Development CONTRIBUTE Blog

Home media

पर्यटनमन्त्रीलाई सांसदकाे प्रश्न : भाङ खाएर सुत्नुभएको छ कि शुभलाभ पाएर?

काठमाडाैं- सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकलाई कारबाही हुन नसकेको, संघअन्तर्गत निर्माण हुँदै आएका सडक निर्माणको कामको जिम्मेवारी प्रदेशलाई दिए पनि ती सडक निर्माणको काम हुन नसकेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद प्रदीप यादवले नेपाल एयरलाइन्सको इन्जिन मर्मत र पाटपूर्जाको टेण्डरमा १ अर्ब ५३ करोड रुपैयाँको घोटाला भएको सार्वजनिक हुँदा पनि त्यसतर्फ सम्बन्धित मन्त्रालयको ध्यान नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘नागरिक उड्डयनमन्त्री भाङ खाएर सुत्नुभएको छ कि शुभलाभ पाएर सुत्नुभएको छ। कि उहाँको ध्यान त्यसमा पुगिरहेको छैन।’

सांसद डिला संग्रौला पन्तले अख्तियारका आयुक्त पाठकले सार्वजनिक रुपमा घुस लिएको भिडियो ४ महिनाअघि प्रधानमन्त्री कार्यालयमा पुगेको भन्दै अहिलेसम्म किन कारबाही भएन भनी प्रश्न गरिन्।

सांसद दिव्यमणि राजभण्डारीले पूर्व गोर्खा सैनिकहरुको समस्याका बारेमा छलफल गर्न वार्ता टोली गठन गरी बेलायत सरकारसँग छलफल गर्न माग गरे। सांसद बालकृष्ण खाँडले पूर्व गोर्खा सैनिकहरुको समस्याप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए।

सांसद दुर्गा पौडेलले गुठी संस्थानअन्तर्गत भोगचलन गर्दै आएको जग्गालाई धितोको रुपमा लिन सक्नेगरी व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्। 

सांसद देवप्रसाद गुरुङले तनहुँ, लमजुङ र मनाङका निर्माणाधीन सडक निर्माण कार्य अवरुद्ध भएको भन्दै तत्काल सुचारु गराउन माग गरे।

धर्मशिला चापागाईँले सबै सांसदलाई समान व्यवहार गर्दै सबै सांसदले खर्च गर्नेगरी बजेटको व्यवस्था गर्न माग गरे।

ध्रुब कुमार शाहीले सुर्खेत जिल्लामा वर्षौदेखि भोगचलन गरिरहेकाहरुले जग्गा धनी पुर्जा नपाएको भन्दै सोको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। नर बहादुर धामीले कञ्चनपुर जिल्लाका ७५ प्रतिशत जनताले जग्गाधनी पूर्जा नपाएको भन्दै तत्काल पूर्जा दिने व्यवस्था मिलाउन माग गरे।

पदम गिरीले निर्धारित समयमै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरे। पुष्पा भुसाल गौतमले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्रमुख प्रतिपक्षी दलले स्वीकार गरेन भनेर भ्रम सृजना गरी निर्वाचन रोक्ने काम भइरहेको भन्दै निर्वाचन हुन नसक्नुको कारणबारे सदनलाई जानकारी गराउन माग गरे।


वाइडबडी विमान खरिद : महाप्रबन्धक र सचिवलाई तत्काल बर्खास्त गरेर जेल हाल्नुपर्छ – सांसद यादव

नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिका सदस्य प्रदीप यादवले विमान खरिदमा ठूलो घोटाला भएको भन्दै बहालवाला मन्त्री, सचिव र महाप्रबन्धकलाई तत्काल बर्खास्त गरी जेल हाल्नुपर्ने बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद यादवले आफूहरुले १५ दिन लगाएर वाईडबडी खरिद प्रकरणको सत्यतथ्य बाहिर ल्याएको दाबी गरे । उनले भने,‘ठूलो मास्टर प्लान बनाएर वाईडबडी खरिदमा घोटाला भएको छ । खरिद गर्दा सार्वजनिक खरिद ऐनपनि मानेको छैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले जहाज ‘ग्लोबल टेण्डर’ नगरीकन किनिएकोपनि आरोप लगाए । उनले भने,‘फ्रान्ससँग किन डाईरेक्ट किनिएन ? भ्रष्टाचार गर्नकै लागि विचौलिया राखिएको छ ।’

उनले जहाज खरिदको नाममा युनियनका नेतासमेत गरि ३८ जना भोजभतेर खानको लागि भ्रमणमा गएको दाबी गरे । उनले थपे,‘भ्रमणको नाममा पनि करोडौं रुपैयाँ भ्रष्टाचार गरिएको छ ।’ उनले जहाज खरिदको ओरिजिनल बिल महाप्रबन्धक सुगतरत्न कंशकार र मन्त्री रवीन्द्र अधिकारीले सार्वजनिक गर्नुपर्ने बताए ।

छानबिन गर्दा आफूहरुलाई कुनै दबाब नआएको उनले स्पष्ट पारे । उनले भने,‘समितिलाई कुनै पनि दबाब आएको थिएन । तर, निगमका महाप्रबन्धक कंशकारबाट हामीलाई आवश्यक सहयोग भएन । उहाँले हामीले मागेको प्रतिवेदन दिनुभएन ।’

यादवले तत्काल महाप्रबन्धक कंशकारलाई निलम्बन गर्नुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई हतकडी लगाउनुपर्ने उनको भनाई छ । उनले भने,‘यो प्रकरणका भ्रष्टाचारीहरुलाई हतकडी लगाउनुपर्छ । पर्दा पछाडि नायकहरुपनि होलान् । ती सबैलाई पर्दाफास गर्नुपर्छ ।’ उनले आफूहरुले बाहिर ल्याएको प्रतिवेदनमा उल्लेखित ४ अर्ब ३५ करोड ५६ लाख रकम घोटाला रकम बढ्नेपनि स्पष्ट पारे । उनले भने,‘यो आंशिक हो । ओरिजिनल बिल कहाँ गयो ? यो प्रकरणमा जो/जो संलग्न छन्, ती सबैलाई कारबाही गर्नुपर्छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले वाईडबडी खरिद प्रकरणमा भ्रष्टाचार गर्ने सबैलाई कारबाही गर्नुपर्ने बताए । उनले भने,‘यो प्रकरणमा मात्रै होइन, भ्रष्टाचार गर्नेजति सबैलाई कारबाही गर्नुपर्छ । जेल हाल्नुपर्छ । बदमास गर्नेहरुलाई कसैलेपनि छुट दिनुहुँदैन् ।’
नेता भण्डारीले सानालाई कारबाही र ठूलालाई छोड्ने काम भएको भन्दै अब त्यस्तो गर्न नहुने बताए । नेपालमा भ्रष्टाचार गरेर कमाउने र विदेशमा लगेर राख्ने गरेको सुनाउँदै उनले भने,‘नेपालको ईतिहाँसमा पहिलो चोटी वीरशमशेरले ४० करोड भारु विदेशमा लगेर राखेका थिए । अहिले नेपाल कमाउने र बाहिर विदेशमा लगेर राख्ने थलो भएको छ । जुन कुरा यहाँको जनताको जीवनस्तर हेरेर थाहा हुन्छ ।’

नेपालमा पछिल्लो समय भ्रष्टाचार र कमिशनतन्त्र बढेको सुनाउँदै जसले गलत गर्छ उसलाई कारबाही गर्नुपर्छ भनेर आफूहरुले भनिरहेको पनि जिकिर गरे । उनले भने,‘हामीले पञ्चायती व्यवस्थाको बेलामा पनि गधा काण्ड, चरेश काण्ड, उन काण्डदेखि प्लेन काण्ड सबै उठाएका हौं नि ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले हत्यारापनि बालुवाटारमै छन् र यी भ्रष्टहरुपनि मेरै हुन र यी बालुवाटारमै छन् भनेजसरी बोलिरहेको उनले टिप्पणी गरे । उनले भने,‘प्रधानमन्त्रीले मैले यीनलाई बचाउनुपर्छ भन्ने शैलीमा, त्यो अर्थ लाग्नेगरि उहाँ बोलिदिनुहुन्छ । तर, उहाँले त्यो बोल्न हुँदैनथियो । उहाँले त बरु नेपालमा हत्या, हिंसा गर्ने र भ्रष्टाचारी जो सुकै होउन्, म उनीहरुलाई कारबाही गर्छु, म छोड्दिन भनेर बोल्नुपर्दथ्यो ।’

राज्यले केपी ओलीलाई बचाउनको लागि १८/२० करोड खर्च गरेको सुनाउँदै भण्डारीले भने,‘राज्यले उहाँलाई हत्यारा र भ्रष्टहरुलाई संरक्षण गर्नको लागि त्यत्रो रकम खर्च गरेको होईन ।’ देशलाई भ्रष्टाचारमा लैजाने कसैलेपनि उन्मुक्ति पाउन नहुने उनको धारणा छ । अख्तियार वा अदालतले भ्रष्टाचार गर्नेलाई उन्मुक्ति दिन्छ भने भोलिको सन्ततीले कानुन परिवर्तन गरेर भएपनि राज्यको सम्पत्ति फिर्ता गर्ने र कारबाही गरेरै छोड्ने पनि भण्डारीले उद्धघोष गरे ।

नेकपाका सांसद एवम् संसदको सार्वजनिक लेखा समितिका सदस्य अमनलाल मोदीले वाईडबडी खरिद प्रकरणमा लेखा समितिले भ्रष्टाचार गरेको ठहर गरे जोसुकै भएपनि कारबाहीको भागिदार हुने स्पष्ट पारे । उनले भने,‘वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिको प्रतिवेदनबारे भोलि लेखा समितिमा छलफल हुन्छ । समितिले भोलि छलफल गरेर निश्कर्ष निकाल्छ । यो प्रतिवेदनमा तथ्य पुगेन भने फेरिपनि नयाँ विषयवस्तुहरुको थालनी हुन्छ । भ्रष्टाचार भएको ठहर भए हामी सम्बन्धित निकायलाई कारबाहीको लागि सिफारिश गर्छौं ।’
लेखा समितिले कारबाहीको लागि सिफारिश गर्दापनि कारबाही भएन भने कारबाही नगर्नेहरुलाई जनताले कारबाही गर्ने उनको भनाई छ । उनले भने,‘मन्त्रीमात्रै होईन, सम्पूर्ण दोषीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’’

उपसमितिले यत्रो घोटाला भयो भनेर प्रतिवेदन ल्याईसक्यो अब मन्त्रीले राजिनामा दिनुपर्ने होईन भनेर पत्रकारको प्रश्नमा सांसद मोदीले भने,‘तर, नैतिकताको प्रश्न उठेको भन्ने कुरा छ, यसमा राजिनामा दिने कि वा अन्य विकल्प रोज्ने की भन्ने कुरा त्यो मन्त्रीको कुरा हो । तर, भोलि पूर्ण समितिमा छलफल हुँदैछ । त्यसपछि हामी हाम्रो कुरा राख्न सक्छौं ।’


सत्तापक्षीय सांसद भन्छन्– एक वर्षमा मन्त्रीहरु समृद्ध भए, नेपालीहरु दु:खी

काठमाडौं– सत्तारुढ संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले सरकारले व्यतित गरेको एक वर्षमा मन्त्रीहरुमात्रै समृद्ध भएको बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले भ्रष्टचार बढेको भन्दै आपत्ति व्यक्त गरे।

‘सरकारले एक वर्ष पूरा गर्‍यो। सरकारको लक्ष्य थियो, नेपालीलाई सुखी बनाउने र नेपाललाई समृद्ध बनाउने’, उनले भने, ‘तर, नेपाली सुखी कहिले हुन्छ? यो एक वर्षमा मन्त्रीहरु समृद्ध भइसके, नेपालीहरु पनि धेरै दुखी भइसके।’

यादवले राजीनामा दिएका अख्तियारका आयुक्तमाथि कारबाही प्रक्रिया तिब्र गतिमा अगाडि बढेको तर वाइडबढी जहाजबारे सबै चुप लागेको बताए। ‘वाइडबडी जहाजमा ठूलो भ्रष्टाचार भयो। तर यो भ्रष्टाचारमा सरकार किन चुप लागेर बस्यो?’, उनले प्रश्न गरे।

‘सार्वजनिक लेखा समितिले गोलमाल गरेर पनि केही प्रतिवेदन पठायो। महिनौं बित्यो, तर सरकारले त्यसलाई सार्वजनिक गरको छैन। अख्तियारले पनि सार्वजनिक गरेको छैन’, उनले सोधे, ‘यो के हो, मैले बुझिरहेको छैन। जनता निराश भइसके। वाइड बडीमा भ्रष्टाचार भइसक्दा पनि न सरकार पक्षको कोही बोल्छ, न प्रमुख प्रतिपक्षको कोही बोल्छ।’

उनले प्रतिपक्षी दलप्रति पनि असन्तुष्टि व्यक्त गरे। ‘दुई जना नेताको नामको अस्पतालको विषयमा १५ दिन संसद अवरुद्ध भयो तर वाइडबडीमा कसैले एक दिन पनि टेबल ठटाएको छैन। यो के भइरहेको छ? हामी अलमलमा परिरहेका छौं’, उनले भने।

‘सुगतरत्न कंसकार भ्रष्टाचारी हुन्, भ्रष्टाचारको नायक हुन् भन्ने प्रमाणित भइसकेको छ। मन्त्री पनि झन्डा फरफराएर घुमिरहेका छन्। तर सरकारले उसलाई कारबाही गरेको छैन, निलम्बन गरेको छैन। अहिलेसम्म मजाले घुमिरहेका छन्’, उनले भने।

भ्रष्टाचारको अवस्था यस्तै रह्यो भने देशमा अधिनायकवाद आउने उनले बताए। ‘यस्तो स्थिति रह्यो भने र भ्रष्टाचारीलाई यसैगरी उन्मुक्ति दिने हो भने देशमा भयावह स्थिति आउँछ’, उनले थपे, ‘सांसद र सरकारप्रति जनतामा भरोसा उड्छ। देशमा अधिनायकवाद आउन सक्छ।’

PRADIP YADAV

Member of parliament